वीरगञ्जमा “रन फर युनिटी म्याराथन“ भव्य रूपमा सम्पन्न भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजनामा इम्प्रुभिङ वीरगञ्ज क्लबले वीरगञ्ज महानगरपालिकाको सहकार्यमा शंकराचार्य गेटबाट सुरु गरिएको म्याराथनमा उत्साहजनक सहभागिता देखिएको थियो।
शंकराचार्य गेटबाट सुरु भएको म्याराथन रेल्वे रोड हुँदै घण्टघर, माइस्थान, आदर्शनगर र विर्ताबाट पुनः शंकराचार्य गेटमै आएर समाप्त भएको थियो। छात्रातर्फको प्रतिस्पर्धामा वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ की कल्सुन खातुन पहिलो भएकी छन्। उनले मेडल र प्रमाणपत्रसँगै टेक्नो कम्पनीबाट स्मार्टफोन, निखिल ज्वैलर्सबाट पाँच हजार नगद र तीन महिनासम्म वल्र्डलिंकको निःशुल्क वाईफाई सेवा प्राप्त गरेकि छिन्।
दोस्रो स्थानमा रहेका वडा नम्बर १४ की प्रिति पटेलले टेक्नोको फोन, रोट्रयाक्ट क्लब अफ शंकराचार्यबाट नगद दुई हजार, र वल्र्डलिंकबाट बोट स्पिकर प्राप्त गरिन्। तेस्रो स्थान हासिल गर्ने वडा नम्बर ११ की सरिता भूलले टेक्नोको स्मार्टफोन, नगद एक हजार र वल्र्डलिंकबाट एअरपड्स पुरस्कार स्वरूप प्राप्त गरिन्। त्यसैगरी छात्रतर्फ प्रथम हुने वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का अमरनाथ साहले कप, मेडल र प्रमाणपत्रसँगै स्मार्टफोन, नगद पुरस्कार र वल्र्डलिंकको निःशुल्क वाईफाई सेवा प्राप्त गरे। बारा कोहल्वीका रुपेश माझी दोस्रो र सोही ठाउँका रोहन माझी तेस्रो स्थानमा रहे। उनीहरूले पनि समान प्रकारका पुरस्कार र एक्सपर्ट एजुकेशनबाट निःशुल्क आईईएलटिएस कक्षा तथा ग्राफिटी डिजिटलबाट ग्राफिक डिजाइनिङको निःशुल्क कक्षाको सेवा लिन सकिने छ ।
चार हजारभन्दा बढी सहभागीहरूले थ्रिल फ्याक्ट्रीका सेवामा २० प्रतिशत र एक्सपर्ट एजुकेशनका आईईएलटिएस र पीटीई कक्षामा २० प्रतिशत छुट प्राप्त गरेका छन । कार्यक्रममा विजेतालाई पुरस्कृत गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यस्ता स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने कार्यक्रमहरूको महत्व औंल्याए। उनले भने, “समाजमा एकता कायम राख्दै खेलकुद गतिविधिहरूको माध्यमबाट स्वस्थ र सक्रिय जीवनशैलीको विकास गर्नु आवश्यक छ। यस्ता कार्यक्रमहरूले स्थानीय युवालाई प्रोत्साहन गर्नुका साथै समुदायमा सकारात्मक सन्देश पुर्याउँछन्। वीरगञ्ज महानगरपालिका यस्ता गतिविधिहरूलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छ।“
इम्प्रुभिङ वीरगञ्जका प्रमुख कार्यकारी अधिकृत सरन गुप्ताले समाजमा एकता र खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यले म्याराथनको आयोजना गरिएको बताए। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्विन्दलाल कर्ण, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, भारतीय महावाणिज्य दूतावासका कन्सुल मनिष दास, एनएमसीका निर्देशक आविद अन्सारी, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।