वीरगञ्ज । मकवानपुरको मनहरी गाउँपालिका–६ मा शनिवार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र बा १६ च ८३२४ नम्बरको कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा परेर एक जना चालकसहित दुई जनाको मृत्यु भएको हो भने १४ जना घाइते भएका हुन् ।
दुर्घटनामा कार चालक हेटौँडा–४, स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएकी चितवन, राप्ती नगरपालिका–२, गड्यौलीकी ५० वर्षीय सुनिता श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या दुई पुगेको मकवानपुर प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालले जानकारी दिए ।
स्कार्पियोलाई चलाएका रौतहटका किशन जयसवाल फरार रहेको र उनको खोजी भइरहेको डिएसपी अर्यालले जानकारी दिए । दुर्घटनाका घाइतेहरूमध्ये धेरै जना गम्भीर घाइते छन् ।
दुर्घटनामा घाइते भएकाहरूमा चितवन राप्ती–२, गड्यौलीका ओमकुमार श्रेष्ठ (५५), सुमिना श्रेष्ठ (२१) र वीरगञ्ज–२, छपकैयाका पूजा देवी शाह (२६), प्रियान्सी शाह (८), सुरदी देवी (२३), निशाकुमारी शाह (२१) लगायत छन् ।
त्यसैगरी, छपकैयाका ओम शङ्कर साह (१५), राजिवकुमार साह (१९), आरती कुमारी साह (१९), दिव्याकुमारी साह (४), सरोज शर्मा (१६), र रोशनी शर्मा (१९) पनि घाइते भएका छन् । घाइते सबैलाई चितवनको भरतपुर पठाइएको छ । घाइतेहरूका हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको डिएसपी अर्यालले जानकारी दिए । दुर्घटनाको थप अनुसन्धान भइरहेको र फरार चालकको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीय प्रहरी र प्रशासनले राजमार्गमा सवारी साधन चलाउँदा उच्च सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।