काठमाडौं– नेपालमा पछिल्लो समय अनलाइन सपिङरविजनेस बढ्दो क्रममा छ । मानिसहरूको व्यस्त जीवनशैली र सूचना प्रविधिको बढ्दो प्रयोगसँगै किनमेल संस्कृतिमा पनि परिवर्तन आइरहेको छ ।
मानिसहरूमा अहिले घरमै बसेर आवश्यक सामान छान्ने र घरबाटै किन्ने अनलाइन सपिङको ट्रेण्ड नै बनेको छ । आफैँ बजार गएर सामान किन्ने झन्झट हुने भन्दै अहिले बजार धाउने मानिस प्रायः कम नै देखिन्छन् ।
दराज डटकम डट एनपी, भाटभटेनी अनलाइन, सस्तो डिल, नेपबे, स्मार्टडोको, ठमेल डटकम, हाम्रो बजार आदि नेपालमा नाम चलेका अनलाइन सपिङ साइटहरू हुन् । यीसहित पछिल्लो समय नेपालमा हजारौँको सङ्ख्यामा अनलाइन सपिङका माध्यमहरू खुलेका छन् ।
फेसबुक पेज, ह्वाटस एप, इन्स्टाग्राम, टिकटक लगायतका माध्यमबाट पनि पछिल्लो समय व्यापारिक क्रियाकलापहरू हुने गरेका छन् । तर प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन सपिङमा ग्राहकलाई जोखिम बढेको पाइएको छ ।
सामाजिक सञ्जाल र वेबसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ताहरूलाई ठग्ने गरेको गुनासो आउन थालेका छन् । मोबाइलमा ह्वाट्स एप, इमो, भाइबर, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत विदेशबाट ब्राण्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी, शृङ्गारलगायतका विभिन्न सामान सस्तो मूल्यमा पठाइदिने विज्ञापन गरी ठगी गरेको भन्ने गुनासाहरू पछिल्लो समय अत्याधिक मात्रामा बढेको उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन, काठमाडौंले जनाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाउने र पैसा पाएपछि सामान डेलिभरी नगरेको भन्दै उजुरी दिन आउने क्रम बढ्दो रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले कलाकर्मीलाई बताए ।
प्रवक्ता रेग्मीका अनुसार ‘अनलाइन सपिङ स्क्याम’ मा विभिन्न तरिकाबाट पीडितहरू ठगिएका छन् । यस अन्तर्गत नेपाल मात्रै नभएर विभिन्न मुलुकहरूबाट विभिन्न किसिमका सामानहरू उपहार पठाइ दिँदैछु भनेर प्रलोभनमा पारी ठगीमा परेको भन्दै पीडितहरू प्रहरी कार्यालय पुग्ने गरेका छन् ।
कुनै ठाउँबाट मोबाइल ल्यापटप वा अन्य कुनै सामान उपहार पठाइदिन्छु भन्दै मानिसहरूलाई कन्भिन्स गर्ने र विभिन्न माध्यमबाट कस्टम क्लियरेन्सका लागि पैसा जम्मा गर्नुपर्छ भनी पैसा जम्मा गर्न लगाउने त्यसपछि ठगी गर्ने व्यक्तिले पैसा पाएपछि पीडितलाई ब्लक गर्ने जस्ता प्रकृतिको घटनाबाट बढेको उनको भनाई छ ।
त्यसैगरी यस अन्तर्गत अर्को प्रकृतिको घटनामा धेरैजसो वैदेशिक रोजगारीको अवसर भनेर सामाजिक सञ्जालमार्फत नक्कली विज्ञापन गरी गरिने ठगी रहेको छ ।
आर्थिक वर्ष २०८०र८१ को साउनदेखि कार्तिक मसान्त सम्मका अनलाइन सपिङ स्क्याम मार्फत ठगिएको भन्दै १ सय ७८ जना पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका छन् । मोबाइल, ल्यापटप र क्यामेरा खरिद बिक्रीको नाममा कूल १ करोड ४० लाख ६ हजार ५५७ रुपैयाँ ठगी भएको छ ।
यसरी ठगिने क्रम वर्षेनी बढ्दो देखिएको छ । उपत्यका अपराध महाशाखाका अनुसार विगत चार वर्षयता यस्ता किसिमका घटना निरन्तर बढिरहेका छन् ।
आर्थिक वर्ष २०७७र०७८ मा अनलाइन सपिङ स्क्यामबाट ४३ जना पीडितले उजुरी दिएका थिए भने उक्त वर्ष ५७ लाख ८७ हजार १७० रुपैयाँ ठगिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८र०७९ मा ८४ जना पीडितबाट १ करोड ५२ लाख ४५ हजार ६२८ रुपैयाँ ठगिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आर्थिक वर्ष २०७९र०८० मा सबैभन्दा बढी ३३९ जना ठगिएका छन् । उक्त वर्ष तीन करोड ७० लाख ७ हजार ८६२ रुपैयाँ ठगिएको छ । यसरी पीडितहरू ठगिने क्रम बढ्दो रहेको महाशाखाको तथ्याङ्कले देखाएको छ ।
अनलाइन स्क्याममा यसरी ठगी गर्नेमा नेपाली मात्रै नभएर विदेशीको पनि बढी संलग्नता हुने गरेको महाशाखाका प्रवक्ता रेग्मीले बताए । ‘अनलाइनबाट ठगी गर्न विभिन्न देशका अपराधीको संलग्नता हुने गरेको पाइएको छ,’ उनी भन्छन्– ‘नेपाली एक जना, भारतीय एक जना, नाइजेरीयन एक जना जस्तै गरी विभिन्न देशका व्यक्तिको संलग्नतामा सामूहिक रुपमा मिलोमतो गरी कुन देशमा कसलाई ठग्ने योजना बनाउने गर्छन् ।’
प्रहरीले समय समयमा अनलाइनको माध्यमबाट ठगीमा संलग्न नेपालीहरूलाई पक्राउ गरी कारबाही गर्दै आएको छ । केही समय अघि भारतीय तथा बङ्गाली नागरिकलाई पक्राउ गरेको थियो । पछिल्लो समय भने यस्तो अपराधमा संलग्न नेपालीहरू पक्राउ पर्ने गरेको उनले बताए ।
मानिसहरू सामाजिक सञ्जालमा आएका विज्ञापन तथा फेसबुक, इन्स्टा, ह्वाटस् एप, भाइबर लगायतका विभिन्न माध्यममा साथी बनाइ उपहार पठाउने प्रलोभनमा पर्ने गरेका कारण यस्ता किसिमका घटना नियन्त्रण हुन सकेका छैनन् । नेपाल प्रहरीले विभिन्न तरिकाबाट जनचेतना फैलाउँदा पनि मानिसहरू आफैँ सचेत हुन नसक्दा आपराधिक क्रियाकलाप कम हुन नसकेको प्रवक्ता रेग्मीले बताए ।
यस्ता किसिमका अपराधबाट जोगिन आम मानिस आफै सचेत भई सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेजरअकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेर मात्र कारोबार गर्न प्रहरी प्रवक्ता रेग्मीको आग्रह छ ।