पर्यटन प्रवर्द्धन गर्न शुक्रवारबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा शुरू भएको छ ।कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठानको आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट शुरू गरिएको यात्राको प्रतिनिधि सभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले शुभारम्भ गरेका हुन् ।
कालीगण्डकी नदीमा मात्र पाइने शालिग्रामको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन धार्मिक मार्ग यात्राका आयोजना गरिएको हो ।
यात्रा शुभारम्भ गर्दै सांसद घिमिरेले पर्यटन प्रवर्द्धनका लागि यस प्रकारका अभियान फलदायी हुने विश्वास व्यक्त गरे । बेलहियाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई यहाँको सडक सरसफाइ, हरियाली, लाइटिङलगायतबाट प्रभावित बनाउन पालिकाहरूले मिलेर एकीकृतरूपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।
पहिलोपटक सुनौली–रुरु क्षेत्र र रुरु क्षेत्र–मुक्ति क्षेत्रको यात्रा गर्न लागिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानकी अध्यक्ष रचना पन्तले जानकारी दिइन् ।
शुक्रवार धार्मिक मार्ग यात्रा सोही दिन गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रुरु क्षेत्रमा पुगी शालिग्राम महोत्सवको घडा स्थापना हुनेछ ।
रुरु क्षेत्रमा धार्मिक विद्वान, पर्यटन व्यवसायी र सरकारी प्रतिनिधिबीच शालिग्राम र महोत्सवको विषयमा छलफल हुने पन्तले बताइन् ।
शनिबार रुरु क्षेत्रबाट मुक्तिनाथको लागि प्रस्थान गरिनेछ । सोही दिन बेलुका जोमसोम पुगिने र ९ गते मुक्तिनाथ धामको दर्शन गर्ने कार्यक्रम छ ।
यात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता छ । रुरु क्षेत्रमा परापूर्व कालदेखि रहेका धामलाई प्रवर्द्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष पन्तले बताइन् ।
कालीगण्डकीमा मात्र पाइने शालिग्राम विश्वभरका हिन्दू धर्मावलम्बीले पुज्ने गर्दछन् । धार्मिक पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकास र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने आयोजकको दाबी छ । शालिग्राम महोत्सव वर्ष अन्तर्गत आगामी कात्तिकमा शालिग्राम महायज्ञ आयोजना हुनेछ ।
महायज्ञमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसहित धार्मिक गुरुहरूलाई निमन्त्रणा गर्ने र धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।
महोत्सव वर्ष अन्तर्गत २४ वटा एकादशी र एक पूर्णिमामा गरी २५ वटा कार्यक्रम गरिने अध्यक्ष पन्तले बताइन् । त्यस्तै महायज्ञ स्तम्भ निर्माण, चर्चा परिचर्चा, गोष्ठी, सभा सम्मेलन हुनेछ ।
महोत्सवमा १५ लाख धार्मिक पर्यटक रुरु क्षेत्रमा ल्याउने लक्ष्य राखिएको छ । चैत्रमा शालिग्राम महोत्सव २०८१ को समापन हुनेछ ।