कोभिड–१९ महामारीसँगै इँटा व्यवसाय मुर्झाउँदा थुप्रै इँटाभट्टा सधैंका लागि बन्द भइसकेका छन् भने कतिपय बन्द हुने अवस्थामा छन्।
चाँगुनारायण नगरपालिका–२ मा सञ्चालित ‘बीए ब्रिक्स फ्याक्ट्री’ यस पटक सञ्चालनमा आएको ७५ दिनमै बन्द भयो। यो सिजनका लागि गत माघ १ गतेबाट उत्पादन थालेको भट्टा गत चैत १५ गते नै बन्द भएको हो। जबकि यही भट्टा अघिल्ला वर्षहरूमा भने असारसम्मै सञ्चालन हुन्थ्यो।
बीए ब्रिक्स फ्याक्ट्रीका सञ्चालक कृष्णप्रसाद इँटाको माग घटेको र अघिल्ला वर्षकै उत्पादन ‘स्टक’ मा भएकाले यस पटक इँटा व्यवसायीहरूको निर्देशन अनुसार ७५ दिनमै भट्टा बन्द गर्नुपरेको बताउँछन्।
“यत्तिकै इँटा उत्पादन मात्र गरेर भएन, खपत हुनुप¥यो। इँटा खपत नभएपछि व्यवसायी संघले यस वर्ष चाँडो बन्द गर्न निर्देशन दिएको थियो। सोही अनुसार हामीले ७५ दिनभित्रै भट्टा बन्द गरिसक्यौं,” कृष्णप्रसाद भन्छन्। हाल भट्टा बन्द भए पनि इँटाको कारोबार भने जारी रहेको उनी बताउँछन्।
बीए ब्रिक्स फ्याक्ट्री मात्र होइन, २०८० सालमा काठमाडौं उपत्यकाभित्र सञ्चालित विभिन्न इँटाभट्टा ७५ दिनमै बन्द भए। यस पटक भक्तपुरका ६४ मध्ये ३८ वटा इँटाभट्टा सञ्चालन भएका थिए। ललितपुरका ३२ मध्ये नौ र काठमाडौंका १२ मध्ये एउटा भट्टा मात्र सञ्चालनमा आएका थिए। यी सबै भट्टा सञ्चालनमा आएको ७५ दिनभित्रै बन्द भएका हुन्।
अघिल्ला वर्षहरूमा सबै भट्टा सञ्चालन हुने गरेकामा यस पटक आधाभन्दा बढी भट्टा त सञ्चालनमै नआएको र सञ्चालित भट्टाहरूले पनि आंशिक रूपमा उत्पादन गर्नुपरेको व्यवसायीहरू बताउँछन्।
नेपाल इँटा उद्योग संघ, बागमती प्रदेशका सचिव आश्रम वैद्य अघिल्ला वर्षकै इँटाहरू बिक्री भइनसकेको र यस पटक उत्पादित इँटा घाटामा बेच्नुपर्ने अवस्था आएको बताउँछन्। “साथै भट्टा सञ्चालन गर्न व्यवसायीसँग पूँजीको अभावले पनि यस पटक भट्टा चाँडो बन्द गर्नुपर्ने अवस्था आयो,” इँटा व्यवसायी समेत रहेका वैद्य भन्छन्, “अघिल्ला वर्षहरूमा भएभरका सबै भट्टा सञ्चालन हुन्थे भने यस वर्ष आधाभन्दा बढी बन्द भए। यस वर्ष जति भट्टा सञ्चालनमा आए, ती सबै व्यवसायीले आधा पूँजी राखेर मात्र सञ्चालन गरेका थिए।”
इँटाको माग घटेकै कारण यस पटक इँटाको मूल्य पनि घटेको वैद्य बताउँछन्। विश्वव्यापी कोभिड महामारीको वेला पनि एक नम्बरी इँटा अधिकतम २० रुपैयाँसम्म बिक्री हुँदै आएको थियो। अहिले भने उक्त इँटा १४ रुपैयाँसम्म बिक्री भइरहेको छ।
“हुन त इँटाको गुणस्तर अनुसार मूल्य निर्धारण हुँदै आएको छ,” उनी भन्छन्, “तर यस वर्ष माग र कारोबार घट्दा अघिल्ला वर्षमा १२ देखि १४ रुपैयाँमा बिक्री भइरहेको इँटा सात रुपैयाँमै पनि बिक्री गर्नुपरेको छ। सात रुपैयाँमा बिक्री हुने इँटा दुई नम्बरी हो।”
यस्तै, स्थान अनुसार पनि इँटाको मूल्य फरक पर्ने उनी बताउँछन्।
७० प्रतिशत इँटा ‘स्टक’मा
२०७२ वैशाख १२ गतेको भूकम्पपछि फस्टाएको इँटा व्यवसाय विश्वव्यापी कोभिड–१९ महामारीपछि भने मुर्झाएको छ। इँटा व्यवसायीको छाता संगठन नेपाल इँटा उद्योग महासंघका अनुसार कोभिडपछि देशभरका ६५ प्रतिशत इँटाभट्टा बन्द छन्। यीमध्ये केही सधैंका लागि बन्द भएका हुन् भने कतिपय आंशिक रूपमा मात्र सञ्चालित छन्।
महासंघमा देशभरका करीब १३ सय इँटाभट्टा दर्ता छन्। यीमध्ये कोभिडयता नियमित रूपमा करीब ४०० भट्टा मात्र सञ्चालनमा छन्। यस्तै, अघिल्ला वर्षहरूमा देशभर उत्पादित इँटामध्ये ७० प्रतिशत ‘स्टक’ मै भएको समेत महासंघका अधिकारी बताउँछन्।
महासंघका महासचिव केदार गोसाईं भन्छन्, “कोभिडदेखि हालसम्म नेपालभर ६५ प्रतिशत बढी इँटाभट्टाहरू बन्द छन् भने ७० प्रतिशत बढी इँटा स्टकमै छ,” उनी भन्छन्, “पूँजी अभाव, महँगी र आर्थिक मन्दीले भट्टाहरू बन्द गर्नुपर्ने अवस्था आयो। बजारमा इँटाको माग ह्वात्तै घट्दा अघिल्ला वर्षमा उत्पादन भएको इँटा नै बिक्री हुन सकेको छैन। सोही कारण यस वर्ष आंशिक रूपमा मात्र भट्टाहरू सञ्चालन भए। अवस्था सुध्रिएन भने ६५ प्रतिशतै भट्टा पूर्ण रूपमा बन्द हुने अवस्था छ।”
इँटा उद्योग लक्ष्यित ठोस सरकारी नीति नहुँदा यस्तो अवस्था आएको उनको अनुमान छ।
जनस्वास्थ्यलाई घातक इँटाभट्टा
भट्टा छिटै बन्द गर्नुपर्दा व्यवसायीले गुनासो गरिरहे पनि भट्टा सञ्चालन हुँदा स्थानीय विकास र स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेकाले मापदण्ड विपरीत सञ्चालित भट्टा सधैंका लागि बन्द गरिनुपर्ने सम्बन्धित क्षेत्रका जनप्रतिनिधि बताउँछन्।
काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी इँटा उद्योग भक्तपुर जिल्लामा छन्। भक्तपुरमा पनि सबैभन्दा बढी विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण नगरपालिकाको वडा नं २ भित्र पर्छन्। यस वडामा मात्र करीब ५७ वटा इँटा उद्योग छन् जसमध्ये यस सिजनमा करीब ३० वटा भट्टा मात्र सञ्चालन भएको वडा कार्यालयले जनाएको छ।
इँटा उद्योगले स्थानीय विकास र स्थानीयको स्वास्थ्यमा असर पुगेकाले बस्ती नजिक मापदण्ड विपरीत सञ्चालित सबै भट्टा सदाका लागि बन्द गरिनुपर्ने यहाँका वडाध्यक्ष सोमप्रसाद प्रधान बताउँछन्। “वास्तवमा सरकारले तोकेको मापदण्ड विपरीतका सबै इँटाभट्टा सधैंका लागि बन्द गरिनुपर्छ,” उनी भन्छन्, “किनभने हाम्रो क्षेत्रमा सञ्चालित भट्टाको कारण झन्डै सात लाख स्थानीयको स्वास्थ्यमा असर परेको छ। सडक र अन्य पूर्वाधार लगायत स्थानीय विकासमा असर पुगेको छ।”
सरकारले इँटा उत्पादन गर्ने भट्टामा अनिवार्य रूपमा वातावरणमैत्री नयाँ प्रविधि प्रयोग गर्नुपर्ने निर्णय गरिसकेको छ। यस्तै, इँटाभट्टाको ३० मिटर क्षेत्रभित्र पीएम २.५ भनिने आँखाले नदेखिने धूलोको कण अधिकतम १०० देखि ५०० सम्म हुनुपर्ने मापदण्ड तोकेको छ।
तर इँटा उद्योगको एक किलोमिटर वरपरको क्षेत्रको हावामा समेत पीएम २.५ को मात्रा ३०० भन्दा बढी मापन गरिएको वडाध्यक्ष प्रधानको दाबी छ। हावामा पीएम २.५ को मात्रा ३०० भन्दा बढी हुनु जनस्वास्थ्यका लागि घातक हो।
“भट्टा सञ्चालन भएपछि वायु प्रदूषण मापन गर्दा वायुको गुणस्तर सूचक ३०० भन्दा बढी देखिन्छ,” उनी भन्छन्, “जुन सरकारको मापदण्डभन्दा बढी हो। हामीले जति भने पनि इँटा व्यवसायीले भट्टा बन्द गर्न अटेर गरिरहन्छन्। इँटाको विकल्प रोजेर प्रदूषण निम्त्याउने सबै भट्टा बन्द गरिनुपर्छ।”सभर : हिमालखबार