वीरगञ्ज । तराई–मधेशमा आजदेखि चिसो बढेको छ । आज विहानदेखि बाक्लो हुस्सुसंगै चिसो हावा र पानी शीत झर्न थालेपछि चिसो बढेको हो ।
तराइमा केही समय यता जाडोयाम सुर भएपनि बिहान र रातको समयमा चिसो लाग्ने गरेको थियो । तर अचानक आज बिहनौदेखि मौसम धुम्म भएर चिसो हावाको स्याँठ चलेकाले एक्कासी चिसो बढेको छ ।मधेश प्रदेशका सबै जिल्लामा चिसो बढेसंगै बारा, पर्सा जिल्ला पनि चिसोबाट प्रभावित बनेको छ ।
अत्यधिक चिसो बढेसंगै वीरगन्ज र आसपासका क्षेत्रमा विहानैदेखि हल्का पानी परिरहेको छ, जसका कारण मानिसहरुको आवगमनमा असर परेको छ । वीरगञ्ज बजारमा मानिसहरुको चहलपहलमा पनि कमि आएको छ । चिसो बढ्न थालेपछि न्यानो ओढ्ने ओछ्याउने नभएका अति विपन्न परिवार पिरोलिएका छन् ।
वीरगञ्जसहित तराईका जिल्लाहरूमा बर्सेनी पुस, माघको जाडोले न्यून आयआर्जन भएका अति विपन्न र दलित परिवार विशेष प्रभावित हुने गरेका छन् ।पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् राजु प्रधानांगले जानकारी दिए । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्हरुको भनाइ छ ।
उनका अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ ।