काठमाण्डौ – काठमाण्डौमा नेपाल चेम्बर एक्स्पोको शुभारम्भ भएको छ । एक्स्पोको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आईटी’ अर्थात् सूचना प्रविधि क्षेत्र दैनिक जीवनको महत्त्वपूर्ण अङ्ग बनिसकेको बताउनुभयो ।
ओलीले आईटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्त्वपूर्ण र अभिन्न अङ्ग बनिसकेको उल्लेख गर्नुभयो । नेपालले तीव्रताका साथ विकासका कामअघि बढाइरहेको भन्दै उहाँले आईटीक्षेत्रमा पनि उल्लेख्य रूपमा अघि बढिरहेको जिकिर गर्नुभयो ।
देशको अर्थतन्त्र, उद्योग, व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुयाउन चाहेको ओलीले बताउनुभयो । आईटी क्षेत्रलाई निर्यात व्यापारका रूपमा अघि बढाउन सकिने हिसाबले सरकार अघि बढेको उहाँको भनाइ छ ।
एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, गाडीका सामान, विद्युतीय सामान, कपडा, गरगहना, कस्मेटिक तथा खाना र दुग्धजन्य पदार्थका एक सय २५ वटा स्टल रहेका छन् । नेपाल, भारत, पाकिस्तान, थाइल्याण्ड, दक्षिण कोरिया, चीन, बङ्गलादेश तथा अन्य देशमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहेका छन् ।