८ वैशाख, काठमाडौं । विश्वको सबैभन्दा ठूलो निर्वाचन चरणबद्ध रूपमा भारतमा सुरु भएको छ। बाहिरका मान्छेहरूलाई थाहा नहुन सक्छ, यो चुनावको प्रमुख मुद्दा के हो।
भारतमा खतरनाक रूपले रोजगारीको अभाव छ। तर, बेरोजगारीको मुद्दामा छलफल भएको देखिँदैन। ‘लोकतन्त्रको क्षय’ प्रति पनि उदार सम्भ्रान्तहरूजति चिन्तित देखिँदैनन् मतदाता। विपक्षी दलहरू बडो साहसपूर्वक जाति र क्षेत्रमा आधारित पहिचानको राजनीतिलाई मुद्दा बनाउने कोसिस गर्दैछन्। तर, प्रधानमन्त्री नरेन्द्र मोदीको सर्वव्यापी आकर्षणले त्यस्तो पुरानो शैलीको राजनीतिलाई असान्दर्भिक बनाइदिएको छ।
तर, नजिकबाट नियाल्ने हो भने मोदी मतदाताको ध्यान केमा केन्द्रित गराउन चाहन्छन्, त्यसको एउटा तस्बिर देखिन्छ– उनको नेतृत्वमा भारत संसारको केन्द्र बन्यो।
गतसाता चुनावी राजनीतिका हिसाबले महत्वपूर्ण उत्तर प्रदेशमा एक ¥यालीलाई सम्बोधन गर्दा प्रधानमन्त्री मोदीले मतदातालाई सोधेनन्– दुई कार्यकाल म सत्तामा रहँदा तपाईंहरूको गोजी कति मोटायो? त्यसको सट्टा उनले सोधे, ‘जब भारत विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने अर्थतन्त्र बन्यो, तब तपाईंलाई गर्व लाग्यो कि लागेन? जब हाम्रो चन्द्रयानले चन्द्रमामा भारतको झण्डा फहरायो, तब तपाईंलाई गर्व लाग्यो कि लागेन?’ यसको निहितार्थ सोझै छ, मोदीले भारतलाई महान बनाए।
भारतका ससाना सहरबजारमा चुनावी संकथन स्थानीय टेलिभिजन च्यानल र छिमेकीहरू सम्मिलिन ह्वाट्सएप ग्रूपहरूले निर्धारण गर्छन्। ती ठाउँमा लगातार भारतको विश्वव्यापी छविमा मानिसहरूको ध्यान केन्द्रित छ। सत्तारुढ भारतीय जनता पार्टीको निरन्तर सन्देश छ– संसार मोदीको दैलो ढक्ढक्याउन आइपुगेको छ। उनीहरू मोदीलाई– र जसका कारण सम्पूर्ण भारतीयलाई– सम्मान गर्न थालेका छन्, बदलामा केही आशा नराखी।
स्वाभाविक रूपले यो कहानीमा एकदम सत्य कुरा केही पनि छैन। उदाहरणका लागि भारतको जुन खालको आर्थिक उन्नति देखिन्छ, तुलनात्मक अध्ययन गर्ने हो भने त्यो देखिँदैन। निर्यात बजार खोल्न र रोजगारी सिर्जना गर्नमा भारतभन्दा उसका प्रतिस्पर्धी मुलुकहरू अगाडि छन्।
मोदी यस्तो दाबी गर्न मन पराउँछन्– पहिलेका सरकारले पश्चिमसँग सहयोग माग्ने गर्थ्यो, मेरो नेतृत्वमा भारतले विश्वलाई खोप सहयोग ग¥यो। आलोचकहरू तर्क गर्न सक्छन्, विश्वकै सबैभन्दा गतिलो जेनेरिक औषधि उद्योग पहिलेका सरकारकै पालामा विकसित भएको थियो। र, २०२१ मा डेल्टा भेरियन्ट फैलिएपछि वाचा गरेको खोप पठाउनुको सट्टा भारतले निर्यात नै रोकेको थियो। भारतबाट खोप आउने आशमा बसेका विकासशील विश्वका मुलुकहरू, खासगरी अफ्रिकी मुलुकहरू खालीहात भए।
तर, थुप्रै भारतीयका लागि यी कुराले कुनै अर्थ राख्दैनन्। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने विश्वले मोदीको दाबीलाई समर्थन गरिरहेको देखिन्छ। पश्चिमा मुलुकमा ठूलो संख्यामा रहेका भारतीयहरू मोदीको सबैभन्दा कट्टर समर्थकमा गनिन्छन्। तिनले भाजपाको संकथनलाई चर्को स्वरमा दोहो¥याउँछन्।
भारतीय डायस्पोराको भीडमै मोदीले भनेका थिए, छाडेको मुलुकप्रति भलै तिनलाई लाज थियो होला, तर अब उनले भारतीयतालाई गर्वको स्रोतमा बदलिदिएका छन्।
गत वर्ष नयाँ दिल्लीमा भएको जी२० शिखर सम्मेलनमा विश्वनेताहरूले लाम लागेर भारतको प्रशंसा गरेको देखियो। उनीहरूले निजी रूपमा के भने, त्यसको कुनै अर्थ हुन्न। (उदाहरणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले पश्चिमा भूमिमा भएको हत्यामा भारतको सम्भावित संलग्नताको कुरा उठाएका थिए)। तर, क्यामराअगाडि बाइडेन र अरु नेताहरूले कठिन भूराजनीतिक अवस्थामा नेतृत्व लिएको भन्दै भारतको सराहना गरे। र, त्यसको निहितार्थ मोदीको प्रशंसा थियो।
सार्वजनिक रूपमा यसप्रकारको भरपूर सम्मान प्रकट गर्दा पश्चिमा मुलुकको केही जाँदैन। र, भारतलाई कूटनीतिक रूपले आफ्नो पक्षमा राखिराख्दा उनीहरूलाई ठूलो फाइदा पनि हुन्छ। पपुलिस्ट नेताहरूलाई यस्तो अनुमोदन दिनुका बेफाइदा सबैलाई थाहा छ। टर्कीका रेसेप तैयप एर्दोगानले पनि सुरुमा युरोपेलीहरूको प्रशंसाको मजा लिए। पछि ती प्रशंसा आलोचनामा बदलिएपछि उनी तिनका लागि काँडा बन्न पुगे।
तर, भारतभित्र यस्तो प्रशंसाको प्रभाव निकै जटिल छ। विश्वमञ्चमा भारतको प्रशंसा सीधै मोदीको मतमा बदलिन्छ। चुनावमा तटस्थ रहन खोज्ने मुलुकले नै प्रशंसा गरे पनि। ‘ग्लोबल साउथ’ का अधिकांश नागरिकझैँ भारतीयहरू पनि सोच्छन्– उनीहरूको देश र सभ्यता अलिकति सम्मानको हकदार छ। यस्तो प्रशंसा निरन्तर आइरह्यो भने ती मतदाताले मोदीका धेरै गल्ती माफ गरिदिनेछन्।
विपक्षीका लागि भने यसले असाधारण रूपले कठिन द्विविधा पैदा गर्छ। संसारको प्रशंसा आवश्यक छ त भनेर प्रश्न गरे भने तिनले मोदीमाथि होइन, भारतमाथि हमला गरेजस्तो देखिन्छ।
भारतीय राजनीतिक विश्लेषकहरूको पुरानो मान्यता थियो– भारतको राजनीति विदेशनीतिबाट एकदम अलग छ। र, विदेश मामिलाको माध्यमले भारतमा चुनाव जित्न सकिन्न। प्रधानमन्त्री मोदीले तिनलाई गलत साबित गर्दैछन्।
२०१९ मा उनले पाकिस्तानसँग सीमापार झडपपछि चुनाव जिते। अहिले आफ्नो नेतृत्व विश्वभर अनुमोदन गराएर उनी सहजै विपक्षीमाथि हाबी भइरहेका छन्। भारतको राजनीति अझै पनि भारतमै केन्द्रित छ। तर, अब यो संसारले भारतलाई कसरी हेर्छ भन्नेमा केन्द्रित भएको छ।साभार नेपाल खबर