भारतको पश्चिम बङ्गालस्थित हावडा जिल्लाकी एक महिलाले आफ्नो श्रीमानलाई १० लाख भारुमा मिर्गौला बेच्न लगाएको आरोप लागेको छ । घर खर्च र छोरीको पढाइका लागि पैसा जुटाउन उनले श्रीमानको मिर्गौला बेच्न लगाएको आरोप लागेको हो ।
तर, मिर्गौला बेचिसकेपछि भने उनी पैसा लिएर प्रेमीसँग भागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
श्रीमान् हावडाको संकरेल शहरका बासिन्दा हुन् । उनले प्रहरीमा उजुरी दिएका छन् । उजुरीका आधारमा प्रहरीले अनुसन्धान शुरू गरेको प्रेस ट्रस अफ इन्डिया (पीटीआई)ले जनाएको छ ।
प्रहरीमा परेको उजुरीअनुसार महिलाले घर खर्च चलाउन र छोरीलाई राम्रो स्कूलमा पढाउन भन्दै एक वर्षदेखि मिर्गौला बेचेर केही पैसा कमाउन श्रीमानलाई दबाब दिँदै आएकी थिइन् ।
श्रीमतीको दबाबपछि श्रीमान १० लाखमा मिर्गौला बेच्न राजी भए । गत महिना मात्रै उनको शल्यक्रिया गरिएको उजुरीमा उल्लेख छ । घर फर्किएपछि उनकी श्रीमतीले आराम गर्न र बाहिर नजान आग्रह गरेकी थिइन् ।
श्रीमान घरमै आराम गरिरहेका थिए । तर, एक दिन घरबाट निस्केकी श्रीमती भने फर्किनन् । केही समयपछि उनले १० लाख नगद र केही थप पैसा लिएर गएको खुल्यो ।
श्रीमानले उजुरीमा परिवारसहित श्रीमती खोज्न साथीभाइ र चिनजानको सहयोग मागेको बताएका छन् । उनी हावडाबाट टाढा कोलकाताको ब्याराकपुरमा फेला परिन् । संकरेल र ब्याराकपुर बीचको दूरी लगभग ५० किलोमिटर छ। उनी कथित रूपमा भागेको व्यक्तिसँग घरमा बस्दै आएकी थिइन् ।
उजुरीअनुसार फेसबुकमार्फत् ती महिलाको पुरुषसँग परिचय भएको थियो । उनी विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
श्रीमान पुग्दा उनले बाहिरै आउन अस्वीकार गरिन् । उल्टै १६ वर्षको वैवाहिक जीवनमा शारीरिक र मानसिक यातना दिएको आरोपमा ‘प्रेमी’ले सम्बन्धविच्छेदको मुद्दा दायर गर्ने चेतावनी दिएको समाचारमा उल्लेख छ ।
ती महिलाले आफ्नो ससुरा घरबाट नगद लिएको पुरुषले अस्वीकार गरे । ती महिलाले पनि आफूले जम्मा भएको रकम मात्रै लिएको दाबी गरिन् । उजुरीका आधारमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।