काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताएका छन् । ३०औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’ उनले भने– ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’
जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे । ‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौँ । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो’ उनले भने– ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौँ ।’
जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्त्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले यी सबै प्रयास असफल पार्न आफूहरूले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताए ।
विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी हामी फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम लगायत उत्पीडित समुदाय र क्षेत्रको एजेण्डामा फर्केको उल्लेख गर्दै उनले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रूपमा ग्रहण गरिरहेको बताए ।
आफ्नो वर्ग र समुदायतर्फ फर्कँदै जनताका एजेण्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने संकल्प गरेका उल्लेख गर्दै उनले यसले पनि जनतामा सकारात्मक प्रभाव पर्दै गएको बताए ।