बजारको माग अझै शिथिल रहेको तथ्यांकले देखाएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महीना (चैतसम्म) को आकडाले आयातमा खासै सुधार नआएको देखाएको छ।
चैतसम्म नेपालले ११ खर्ब ६७ अर्ब रुपैयाँको आयात गरेको छ। यो गत वर्षको यही अवधिको तुलनामा २.८२ प्रतिशत थोरै हो।
दुई वर्षअघि बजारमा वस्तु र सेवाको माग उच्च रहेको वेला हरेक महिना एक खर्ब ५० अर्ब रुपैयाँभन्दा धेरै मूल्यको वस्तु आयात हुन्थ्यो। अहिले हरेक महिना सरदरमा एक खर्ब ३० अर्ब रुपैयाँ हाराहारीमा मात्रै आयात भइरहेको छ।
व्यवसायीहरूले बजारमा वस्तु र सेवाको माग घटेको कारण आयात कम हुँदै आएको बताउने गरेका छन्। खासगरी, उपभोग गर्ने युवा समूह काम र अध्ययनका लागि विदेश जाने क्रम बढेको, बजारमा आर्थिक शिथिलता रहेको कारण माग खस्किएको अनुमान गरिएको छ।
भन्सार विभागका अनुसार चैतमा भने आयातमा सामान्य सुधार आएको छ। चैतमा नेपालले एक खर्ब ३७ अर्ब मूल्यका वस्तु आयात गरेको छ। यो फागुनको भन्दा पाँच अर्ब रुपैयाँ बढी हो ।
यो आर्थिक वर्षमा सर्वाधिक धेरै असोज महिनामा एक खर्ब ४८ अर्ब रुपैयाँ मूल्यका वस्तु आयात भएको थियो। दशैंतिहार जस्ता चाडपर्वका कारण असोजमा सर्वाधिक मूल्यको आयात भएको थियो। असोजलाई छोड्ने हो भने यो वर्ष अन्य महीनाका तुलनामा चैतको आयात धेरै हो।
चैतसम्म नेपालले एक खर्ब ९६ अर्ब रुपैयाँ बराबरको कृषिवस्तु आयात गरेको छ। यसमध्ये करीब ५२ अर्ब रुपैयाँको खाने तेल, ३७ अर्बको अन्न, दुई अर्ब २८ करोडको तरकारी र १७ अर्बको फलफूल छन्।
चैतसम्म नेपालले दुई खर्ब ४६ अर्बको पेट्रोलियम पदार्थ, ९७ अर्बको फलाम, ७८ अर्बको मेसिन र औजार आयात गरेको छ।
त्यस्तै, नेपालको निर्यात भने जम्मा एक खर्ब १४ अर्बको मात्रै छ। यसले नेपालले निर्यात गरेको रकमले कृषि वस्तुको आयात समेत नथेगेको देखाउँछ। बितेको वर्षको तुलनामा यो वर्षको नौ महिनामा निर्यात ३.६६ प्रतिशतले खस्किएको छ।