मधेस प्रदेशकै सर्वाधिक धनराशीको ‘दोस्रो वीरगन्ज गोल्डकप फुटबल’ को उपाधि पुन नेपाल पुलिस क्लबले जितेको छ ।वीरगन्जको आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा टाइबेकरमा मच्छिन्द्र फुटबल क्लबलाई ३–० ले स्तब्ध पार्दै पुलिस क्लबले लगातार दोस्रो पटक वीरगन्ज गोल्डकपको उपाधि उचालेको हो ।
यसअघि गत वर्ष आयोजित ‘प्रथम वीरगन्ज गोल्डकप फुटबल’ को फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले नै उपाधि जितेको थियो ।
शनिबार भएको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइबेकरमा धकेलिएकाृ थियो । टाइबेकरमा पुलिसका ४ मध्ये तीन खेलाडीले गोल गरे भने मच्छिन्द्रका सुरुवाती तीनै जना खेलाडीले गोल गर्न असफल भएपछि उपाधि पुुन पुलिसको पोल्टामा गयो ।
टाइबेकरमा पुलिसका कप्तान रामचन्द्र वाजी,सनिल लामा र गोलरक्षक अमित टमाटाले गोल गरे भने उज्वल राइको प्रहार गोलपोष्टको बारमाथिबाट बाहिर गएको थियो ।
टाइबेकरमा मच्छिन्द्रका विशाल तमांगले गरेको प्रहार गोलपोष्टको बार बाहिर गयो भने दिवकार चौधरीको प्रहार बारमाथिबाट बाहिर गयो । यस्तै समिराज थोकरको प्रहार पुलिसका गोलरक्षक अमित टमाटाले रोकेर असफल पारिदिएका थिए ।
त्यसअघि निर्धारित समयको खेलमा सुरु देखि नै मच्छिन्द्र पुलिसमाथि हाबी भएको थियो । खेलको १२ औं मिनेटमै मच्छिन्द्रका समिराज थोकरले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ५८ औं मिनेटमै मच्छिन्द्रका उज्वल राईले दिएको सुन्दर पासलाई विकास बिकले हेड गरेर गोलमा परिणत गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।
उपाधिसंगै पुलिस क्लबले नगद ११ लाख ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उपविजेता मच्छिन्द्रले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमै चित्त बुझाउनु पर्यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका कप्तान रामचन्द्र वाजी घोषित भए । उनले इलेक्टीक स्कूट प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसकै अमित टमाटा र उत्कृष्ट प्रशिक्षक पुलिसकै चेतन घिमिरे घोषित भए । उनिहरुलाई जनही २०र२० हजार रुपैयाँ प्रदान गरियो ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण तथा विशिष्ट अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले उपाधि विजेता र उपविजेता टिमलाई नगदराशीको पुरस्कार सहित ट्रफी र मेडल प्रदान गरे ।
वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा भेट्रान सिटी क्लब वीरगन्जले फागुन १७ देखि २४ गतेसम्म आयोजना गरेको प्रतियोगितामा नेपालका ७ र भारतका १ गरी कूल आठ टिम सहभागी थिए ।
रेस खबर