मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवाबाट नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका छन्। प्रहरीको विशेष सूचनाका आधारमा मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२ कै ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन्।
नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई बा ४७ प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा आउँदै गर्दा प्रहरीको निगरानीमा पारिएको थियो। खानतलासी गर्दा उनीहरूको साथबाट नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए।
प्रहरीका अनुसार ८८ बण्डलमा राखिएको १ लाख ७६ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद गरिएको छ। नोट बनाउने क्रममा एक–एक वटा सक्कली हजार दरको नोटको तलमाथि राखेर बीचमा सेतो कागज हालेर नक्कली नोट बनाइएको पाइयो।
पक्राउ परेका पाँचै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी राईले बताए। प्रहरीले नक्कली नोट निर्माण र आपूर्ति गर्ने गिरोहबारे थप अनुसन्धान जारी राखेको छ।