सिड्नी (अस्ट्रेलिया) । कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे ५ हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी सहरका लागि उत्तिकै क्षमताको दोस्रो शो घोषणा गरेको छ ।
अस्ट्रेलियाको सांगीतिक यात्रामा रहेको ब्याण्डले चैत १६ (मार्च २९) मा सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा प्रस्तुति दिने तयारी थियो । अब भने अर्को दिन अर्थात् चैत १७ (मार्च ३०) मा पनि ब्याण्डले सोही हलमा प्रस्तुति दिने जनाइएको छ ।
राजधानी क्यानबेराबाट महिना दिन लामो शृंखलाबद्ध यात्रा सुरु गरेको ब्याण्डले पर्थमा दोस्रो कन्सर्ट गरिसकेको छ । दुवै सहरमा भएको कन्सर्टको चर्चासँगै सिड्नीमा टिकटको माग बढेको थियो ।
सिड्नीका लागि भएभरका टिकट निकै अगाडि बिक्री भइसकेपछि स्थानीय आयोजक टीआरएन इभेन्ट्स र नेपथ्यलाई व्यवस्थापन गर्दै आएको संस्था नेपालयले थप शो घोषणा गरेका हुन् ।
‘हामीले यसलाई नेपाली संगीत क्षेत्रकै निम्ति सुखद खबरका रूपमा लिएको जनाएको छ’ ब्याण्डको ब्वस्थापक नेपालयले विज्ञप्तिमा भनेको छ । स्थानीय आयोजक टीआरएनका प्रदीप पाठक भन्छन्, ‘भएभरका टिकट चाँडै बिक्री भए । अरू दर्शकको आकांक्षालाई सम्मान गर्दै थप शो घोषणा गर्ने जमर्को गरेका हौं ।’
नेपथ्य आगामी प्रस्तुतिका लागि ब्रिसबेन पुगेको छ । त्यसपछि क्रमशः होबार्ट, एडिलेड र मेलबर्न सहरमा आफूलाई उभ्याएर ब्यान्ड सिड्नी पुग्नेछ ।
सिड्नीस्थित विश्वविद्यालयको प्रेक्षालयमा सन् २००९ मा पहिलो पटक प्रस्तुत भएर अस्ट्रेलिया अनुभव थालनी गरेको नेपथ्य त्यसपछि दुई हजार दर्शक क्षमताको ‘टाउनहल’मा गुन्जिएको थियो । त्यसपछि ३ हजार दर्शक क्षमताको लुनापार्कस्थित ‘बिग टप’ हलमा प्रस्तुति दिएको थियो । सन् २०२३ मा साढे पाँच हजार दर्शक क्षमताको हल ‘होर्डन पभिलियन’ मा पनि ब्याण्ड गुञ्जिएको थियो ।