वीरगंज । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पर्सामा संकलन गरिएका मानव अधिकार उल्लघंन घटनाहरुको पुस्तक प्रकाशन पूर्व समिक्षा गोष्ठी शनिबार वीरगंजमा सम्पन्न भएको छ ।
इन्सेक पर्साका अनुसार सन् २०२३ को अबधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्यांकमा यो वर्ष पर्सामा ४९ ओटा मानव अधिकार उल्लघंनको घटना संकलन गरिएको छ ।
इन्सेक पर्साका प्रतिनिधि शम्भु कुमार सुमनले प्रस्तुत गरेको प्रतिवेदनमा एक वर्षको अबधिमा परिवारजनबाट ३ महिला र दुई पुरुषको हत्या, १३ बालिका र ९ महिला गरी २१ बलात्कारको घटना रहेको छ ।
यसै गरि इन्सेक पर्साका अनुसार १२ वहुविवाह, ३ महिला वेचविखन, एक बलात्कार प्रयास तथा आत्म हत्या दुरुत्साहन, एक कथित बोक्सीको आरोपमा अमानविय व्यवहार लगायतका मनाव अधिकार उलंघनको घटना भएको छ ।
कार्यक्रमका प्रमुख पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले मानव अधिकारको विषय बहुयामिक भएको वताए । उनले इन्सेकको प्रतिवेदनले समग्र जिल्लाको अवस्था देखाएकोले यस तर्फ हामी सबैको ध्यान जानु पर्ने जरुरी रहेको वताए ।
अधिकारीले इन्सेकको प्रतिवेदनले पीडितहरुको आवाजलाई न्यायीक प्रकृया सम्म पुर्याउन सहयोग पुगेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले अहिले पनि मानव अधिकार उलंघनको घटना व्यापक रुपमा भइरहेको वताए । उनले यसको नियन्त्रणमा राज्यको लापरवाही देखिएको वताउँदै यसमा गम्भिर हुनु पर्ने धारणा राखे ।
पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जिल्लामा हुने सम्पूर्ण मानव अधिकार उलंघनका घटनाहरु इन्सेक मानव अधिकार बर्ष पुस्तकमा समेटिनु पर्ने वताए । मानव अधिकार उलंघनका घटना बर्ष पुस्तकमा समेटी त्यसको नियन्त्रणको राज्य गम्भिर हुने धारणा राखे ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले मानव अधिकार उलंघनको घटनालाई पनि प्रहरीले अपराधिक घटना कै रुपमा लिएको वताए । उनले अपराधिक घटना घटाउने सम्पूर्ण माथि नियम अनुसार कारवाही भइरहेको दाबी समेत गरे ।
इन्सेक पर्साका पूर्व प्रतिनिधि एवम् पत्रकार महासंघका केन्द्रिय सदस्य के।सी।लामिछाने अध्यक्षतामा भएको कार्यक्रममा गैसरकारी संस्था महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल, दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरी, महिला अधिकारकर्मी लक्ष्मी उप्रेती, बृजलाल पासवान लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।