रौतहट : रौतहट चन्द्रपुरका विवेक भण्डारी लामो समयदेखि पत्तै नलागेको रोगबाट थलिएका छन् । उनको देब्रे खुट्टाले टेको दिन छाडेको छ । श्रीमतीको सहारामा उनी सामान्य हिँडडुल गर्छन् । तर, लामो समय उभिन सक्दैनन् । दुई घण्टा थेरापीसँगै उनको दिनचर्चा ओछ्यानमै बित्छ ।
३४ वर्षीय भण्डारीलाई यो समस्या २०७७ मा यूएईमा रोजगारीका लागि पुग्दा देखिएको थियो । त्यतिबेला उनको देब्रे खुट्टाको औंलाहरू चिसो हुन थाले । काम गर्ने सहकर्मीले घाममा बस्न सुझाए । कम्बल सेकाउन सुझाए । तातो पानीमा डुबाउन सुझाए । तर, पनि उनको औंला तातेनन् । उनी परिवारकै सल्लाहमा नेपाल फर्किए । काठमाडौंको कोटेश्वरमा बस्दै आएका भण्डारीले खुट्टा झम्झमाउने र बेलाबेला आफैं चल्न थाले पनि शुरूमा चाबहिलस्थित ओम अस्पतालमा पुगे ।
उनलाई एमआरआई गर्न भनियो । एमआरआई रिपोर्टमा मेरुदण्डको हड्डीले नसा च्यापिएको देखियो । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाए । कहिँ कतै लडेको पनि होइन, कुनै दुर्घटनामा परेको पनि होइन, एक्कासि नसा च्यापिएको रिपोर्ट सुनेपछि भण्डारी अचम्ममा परे । मेरुदण्डको हड्डीले ११ वटा नसा च्यापिएको कुरा चिकित्सकले सुनाएका थिए । भण्डारीले औषधि सेवन गरेर सन्चो पार्न सकिने विकल्पमा चिकित्सकसँग परामर्श थाले । चिकित्सकले शल्यक्रियाबिना उपचार सम्भावना नभएको जवाफ दिएपछि उनी ट्रमा सेन्टरमा पुगे ।
हड्डीसम्बन्धी उपचार र शल्यक्रियाका लागि ट्रमा सेन्टर उपयुक्त हुने बुझाइ भण्डारीमा थियो । त्यहाँका चिकित्सकले पनि शल्यक्रिया नै गर्नुपर्ने सुझाव भण्डारीलाई दिए । तर, भण्डारीले चिकित्सकलाई एउटा प्रश्न भने राखे । कहाँको, कतिवटा शल्यक्रिया गर्नुपर्छ ? चिकित्सकले जवाफ फर्काएनन् । त्यसपछि उनी श्रीमतीले पढाउने बोर्डिङका प्रिन्सिपलको परामर्शअनुसार सोल्टीमोडस्थित स्पार्क हेल्पिङ होम अस्पतालमा पुगे । त्यहाँका वरिष्ठ चिकित्सकले सिटिस्क्यान गर्न लगाए । रिपोर्ट हेरेपछि चिकित्सकले भने, ‘तपाईंको उपचार जहाँ गराए पनि निको हुँदैन ।’ तब भण्डारी छाँगाबाट खसेजस्तो भए । नजिकै रहेका उनका परिवारमा पनि सन्नाटा छायो ।
तर, भण्डारीलाई नजिकैबाट केयर गरिरहेकी सोही अस्पतालकी एक चिकित्सकले भने झिनो आश देखाइन् । थेरापी गर्न लगाउने सुझाव वरिष्ठ चिकित्सकलाई दिइन् । तर, कार्यान्वयन भएन । भण्डारीको आत्मविश्वास क्रमशः कमजोर हुँदै गयो । सुरुमै उनका बुबाले धामीझाँक्री लगाउने भनेका थिए । चिकित्सकबाट पनि राम्रो रेस्पोन्स नआएपछि बुबाको सल्लाह बमोजिम झारफुक पनि गरे । निको भएन, बरु झन बल्झिदै गयो । उनी झनझन् कमजोर हुँदै गए । दिसापिसाब रोक्न सकेनन् । खुट्टाले भेउ पाउन छाड्यो ।
अब भने भण्डारीको परिवारले उनलाई उपचारका लागि दिल्ली लैजाने निधो गरे । दिल्लीस्थित म्याक्स अस्पतालमा उनी नेपालका चेक गरेका रिर्पोट बोकेर पुगे । त्यहाँ बल्ततल्ल बेड पाइयो । त्यहाँ उनको भेट सिनियर सर्जन तथा नशा रोग विशेषज्ञ डा. मुकेश अग्रवालसँग भेट भयो । अग्रवालले भण्डारीलाई ‘सिभियर कम्प्रेसिभ माएलोप्याथी’ भएको बताए । त्यसका लागि गर्धनभन्दा तल र कम्मरभन्दा माथिको भेरुदण्डको शल्यक्रिया गर्नुपर्ने डा. अग्रवालको सुझावअनुसार भण्डारी तयार पनि भए । शल्यक्रियापश्चात ९० प्रतिशत समस्या समाधान हुने र थेरापी गरेमा विस्तारै रिकभर हुँदै जाने सल्लाह चिकित्सकले दिए । भण्डारीले शुल्क महँगो भएको थाहा हुँदाहुँदै पनि स्वास्थ्य ठूलो कुरा भएको भन्दै शल्यक्रिया गर्न तयार भए । पाँच दिनसम्मको बेड मिल्यो तर, थप फलोअपका लागि आउन भण्डारीलाई सकश हुने देखियो । दुई किलोमिटर पर डेरा पाइयो । दैनिक आउजाउमा समस्या हुने देखिएपछि उनले फुपूसँग सल्लाह गरे । भारतकै इलाहवादस्थित न्यूरो स्पाइनल अस्पतालमाम जाने निधो गरे ।
अस्पतालका चिकित्सक डा. प्रकाश खेतानले शल्यक्रियाका लागि तयार हुन सुझाए । २०७९ जेठ १७ मा भण्डारीको शल्यक्रिया भयो । चिकित्सकले शल्यक्रियाको घाउ सुकेपछि थेरापी गर्न सुझाएअनुसार उनले २२ दिनपछि थेरापी गर्न शुरू गरे । दिल्लीस्थित वाक एण्ड रन एडभान्स रिहाभ्लिटेशन सेन्टरमा राम्रो थेरापी हुने जानकारी पाएपछि उनी त्यतै लागे । त्यहाँ आठ महिना थेरापी गरे । उपचारक्रै कममा उनको करिब ६० लाख रुपैयाँ सकियो । वाकरको सहायतामा भण्डारी थोरै हिँडडुल गर्न थाले । ‘अब त निको हुन्छ होला भनेर नेपाल फर्कियौं,’ भण्डारीले भने,‘ नेपाल फर्किएपछि मैले फिजियोथेरापीलाई निरन्तरता दिंदै आएँ ।’
भण्डारीलाई अहिले फिजियोथेरापिष्ट रोशन थापामगरले दैनिक दुई देखि अढाइ घण्टा थेरापी गराउँदै आएका छन् । उनी वाकरको सहायतामा शौच गर्न बल्ततल्ल पुग्छन् । थापामगरका अनुसार करिब २० प्रतिशत रिकभरी भएको छ । निरन्तर थेरापी गर्यो भने भण्डारीले एक्लै हिँडडुल गर्न सक्छन् । तर, यसका लागि तीनदेखि चार महिना एडभान्स रोबटिक थेरापी गर्नुपर्ने हुन्छ । ‘एडभान्स रोबटिक थेरापी सुविधा नेपालमा छैन, भारतमा छ,’ थापामगरले भने,‘ यसका लागि थोरै पैसाले पुग्दैन ।’ भण्डारीको आर्थिक अवस्था कमजोर भएका कारण उनले रोबटिक थेरापीको कल्पना पनि गरेका छैनन् । बरु कसैले सहयोगी हात बढाए आफ्नो जीवन बाँच्ने र परिवारमा जेठो छोरा हुनुपर्ने दाहित्व पूरा गर्ने अभिलासा भण्डारीमा छ । ‘ मैले विदेशमा दुःख गरेर ल्याएको र घरको जायजेथा बेचेर भए पनि उपचार गरें,’ भण्डारीले मलिन स्वरमा भने, ‘अब मलाई बचाउने वा नबचाउने जिम्मा सहयोगी हातहरूबाटै हो ।’
भण्डारीकी श्रीमती सशिता राजभण्डारीको नाममा नेपाल एसबीआई बैंकमा खाता खोलिएको छ । हेटौंडा ब्रान्चमा खोलिएको बैंक खाता नम्बर २००१५२४३४०२२६९ मा सहयोगीहरूले आफ्नो इच्छाअनुसार सहयोग गर्न भण्डारी अपिल गर्छन् । मोबाइल बैंकिङमार्फत् ई–सेवामा (९८६१४५२९२३) समेत रकम जम्मा गर्न मिल्ने व्यवस्था परिवारले गरेको छ । ‘मेरो शारीरिक एवं आर्थिक अवस्था धेरै कमजोर भयो, तपाइँहरूको सानो सहयोगले मेरो जीवन बाँच्नसक्छ,’ भण्डारी सार्वजनिक रूपमा अपिल गर्छन्, ‘पैसा नभएकै कारण एउटा नेपालीको छोरो मर्ने न बाँच्ने अवस्थामा पुगेको छ । बाँकी सहयोगी मन भएकालाई जिम्मा दिन्छु ।’