वीरगन्जमा आयोजित तीन दिवसीय राष्ट्रिय बुद्धिचाल प्रतियोगीता सम्पन्न भएको छ । नेपाल बुद्धिचाल महासंघको समन्वयमा पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको सयुँक्त आयोजनामा मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिप बुधवार सम्पन्न भएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगन्जमा राष्ट्रिय स्तरका खेलकुद गतिविधि बढ्दै गएको प्रति खुशी व्यक्त गरे ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धर्म बहादुर लामाले खेलकुदलाई व्यवसायिकरण गराउनका लागि तीन वटै तहका सरकार उदासिन रहेको प्रति चिन्ता व्यक्त गरे । खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएसम्म खेलकुदको विकास हुन नसक्ने उनको धारणा छ ।
खेलकुद र खेलाडीमा लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले खेलाडीलाई मासिक प्रोत्साहन भत्तासँगै, राष्ट्रसेवक खेलाडीलाई निश्चित मापदण्ड बनाएर सम्मानजनक जीवनयापनका लागि निवृतिभरणको व्यवस्थाका लागि महासंघले निरन्तर आवाज उठाइरहेको बताए । साथै खेलाडीको सहज उपचार र जीवन बिमा गराउनुपर्ने माग पनि उनले राखे ।
प्रतियोगीताको नतिजा चिफ आर्बिटर रामकिशोर सिंह परागले प्रस्तुत गरेका थिए । बुद्धिचाल खेलाडी उत्पादनसँगै बुद्धिचाल खेलकुदप्रति विद्यार्थीको अभिरुची अभिवृद्धि गर्ने अभिप्रायले वीरगन्जमा प्रतियोगीता आयोजना गरिएको वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष समेत रहेका परागको भनाई छ ।
कुन उमेर समुहमा को – को बिजेता बने !
प्रतियोगीतामा १८ वर्ष मुनीतर्फ पुरुषोत्तम सिलवाल प्रथम, उमेश भट्ट द्वितिय र शुभम श्रेष्ठ तृतिय भएका छन् । १६ वर्ष मुनीतर्फ अनुष्ण गौतम प्रथम, आद्यन्त काफ्ले द्वितिय र क्षितिज सेन तृतिय भएका छन् । १४ वर्ष मुनीतर्फ अनुपजंग शाह प्रथम, कृषान्त घिमिरे द्वितिय र कशिव कार्की तृतिय भएका छन् । १२ वर्ष मुनीतर्फ अबिन पाण्डे प्रथम, ओस्कार पन्थी द्वितिय र सरल मैनाली तृतिय भएका छन् । १० वर्ष मुनीतर्फ अग्रिम सैँजु प्रथम, हार्दिक पन्त द्वितिय र साहस श्रेष्ठ तृतिय भएका छन् । ८ वर्ष मुनीतर्फ सुनभ ओझा प्रथम, आर्थव त्रिपाठी द्वितिय र आगमन ठकुरी तृतिय भएका छन् ।
छात्राअन्तर्गत १८ वर्ष मुनीतर्फ सनम श्रेष्ठ विजेता र साक्षी साह उपविजेता बनेका छन् । १६ वर्ष मुनीतर्फ पुर्णिमा गुरुङ प्रथम, उज्जीवनी कँडेल द्वितिय र बिनिता प्रजापती तृतिय भएकी छन् । १४ वर्ष मुनीतर्फ स्नेहा कुमारी साह विजेता र सृष्टि साह उपविजेता बनेका छन् । १२ वर्ष मुनीतर्फ बिबिशा तामाङ् विजयी हुँदा तचिता अग्रवाल उपविजेता बनेकी छन् । १० वर्ष मुनीतर्फ ईशा गिरी प्रथम, सिम्रन गुरुङ द्वितिय र कृतिमा तिमिल्सीना तृतिय भएका छन् । ८ वर्ष मुनीतर्फ अग्रता आचार्य विजेता हुँदा आर्जु रोकाय उपविजेता बनेकी छन् ।
प्रतियोगीतामा विजेता तथा उपविजेताहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रतियोगीताका निर्देशक सुलभ केसीले जानकारी दिए । उनकाअनुसार सबै उमेर समूहका विजेताहरु आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन यूथ चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् ।
बैशाख १० गतेदेखि सुरु भएको प्रतियोगीतामा नेपालगञ्ज, बुटवल, मोरङ्, काठमाण्डौ, भक्तपुर लगायतका जिल्लाबाट ७५ जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो । राष्ट्रिय स्तरको यो बुद्धिचाल प्रतियोगितामा विद्यार्थीहरुको निकै रोचक खेल भएको थियो ।यस्ता प्रतियोगिता हरु आगामी दिनहरुमा समेत निरन्तरता दिनुपर्ने बताएका छन् ।