वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगन्ज भन्सारबाट सुनचाँदीको गरगहना सहित तीनजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको सुनचाँदी पसललाई बनाउन दिएको ग्राहकको सुनचाँदी कालीगढको मिलेमतोमा लिएर फरार भएका तीनजनालाई वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल प्रान्त किशोरनगरका अन्दाजी ३५ वर्षीय सौमेन गुचैट र सोही ठाउँका २५ वर्षीय अमित दास पक्राउलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंकै जडिबुटीमा सुन बनाउने कारखाना सञ्चालन गर्ने भारत, पश्चिम बङ्गालका बटु रंग र उनका कामदारहरूसँग मिलेमतो गरी ग्राहकको सुन लिएर भागेको खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट अन्दाजी ८२ लाल दुई सेट झुम्का, अन्दाजी ३० लालको एक सेट रिङ्ग, अन्दाजी ३० लालको एक थान सिक्रि लकेट, अन्दाजी ४ लालको गणेश लक्ष्मीको मूर्ति अङ्कित एक थान लकेट र अन्दाजी १ तोला सुनका टुक्राहरू गरी जम्मा अन्दाजी २ तोला ६६ लाल सुन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै, उनीहरूको साथबाट लक्ष्मीको अन्दाजी २ तोलाको चाँदीको मूर्ति पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार भक्तपुरको ठिमी नगरपालिका वडा नं.१, लोकन्थलीमा सगरमाथा खोटाङ्ग सुनचाँदी पसल सञ्चालन गर्ने भक्त गदाल वि.क. र काठमाडौं महानगरपालिका वडा नं. ३२, नरेफाँटमा ओमशान्ति ज्वेलर्स सञ्चालन गर्ने श्रवण घिमिरेले ग्राहकको अर्डर अनुसार काठमाडौं महानगरपालिका वडा नं. ३२ जडिबुटीमा सुन बनाउने कारखाना खोलेका बटु रंगलाई दिएको थियो ।
त्यहिबाट उनीहरुले सुनचाँदीका गहना लिएर भारत जानका लागि वीरगन्ज आईपुगेका थिए । प्रहरीले त्यहि सूचनाको आधारमा सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जान लागेका उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी चौकी ईनरुवाको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।