गौर (रौतहट) । नेपाल र भारतका पत्रकारहरूबीच संवादको माध्यमबाट पत्रकारिता र आपसी समझदारी बढाउने उद्देश्यसहित आयोजित नेपाल–भारत पत्रकारिता संवाद सेमिनार गौरको घण्टाघर चौकस्थित मध्यन राष्ट्रिय दैनिक पत्रिकाको सम्मेलन कक्षमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल र भारतका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू तथा मिडिया क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि भारतीय पत्रकार संघका राष्ट्रिय अध्यक्ष सिराज अहमद कुरैशीले नेपाल र भारतका पत्रकारहरूको हित, सुरक्षा, सम्मान र कार्य अवस्था सुधारको आवश्यकता औँल्याए। उनले नेपाल र भारतका पत्रकारहरू खतरापूर्ण अवस्थामा काम गर्न बाध्य रहेको भन्दै पत्रकार सुरक्षासम्बन्धी कानुन बनाइनु पर्ने र पत्रकारहरूमाथि हत्या, धम्की तथा दवाबजस्ता असुरक्षित अवस्थालाई सरकार गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए।
कुरैशीले भने, “नेपाल र भारतका पत्रकारहरू दैनिक रूपमा खतरासँग जुध्दै आएका छन्। हत्या र धम्की सामान्य जस्तै भइसकेको छ। पत्रकारहरूमाथि हुने दुव्र्यवहारलाई गम्भीरतापूर्वक लिएर दोषीमाथि कडा कारबाही हुनुपर्छ। आवश्यक परे सुरक्षा र हतियार अनुमतिसमेत उपलब्ध गराइनु पर्छ।” उनले मृतक पत्रकारका परिवारलाई सरकारी रोजगारी, रु. १ करोड क्षतिपूर्ति, र बच्चाहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने प्रस्ताव राखे।
उनले थपे, “पत्रकारहरू भ्रष्ट अधिकारी, नेता तथा प्रभावशाली व्यक्तिहरूद्वारा फर्जी मुद्दा दर्ता गरेर दुःख दिइँदैछ, जुन निन्दनीय छ। यस्तो अवस्थाको अन्त्यका लागि प्रत्येक जिल्लामा जिल्ला अधिकारी, प्रहरी प्रमुख, सूचना अधिकारकर्मी र पत्रकार संगठनका प्रतिनिधिहरूको संयोजनमा समिति बनाई पत्रकारविरुद्ध उजुरी परेको खण्डमा निष्पक्ष छानबिनपछि मात्र कारबाही गर्नुपर्ने व्यवस्था गरिनुपर्छ।”
उनले पत्रकारहरू राष्ट्रको चौथो स्तम्भ भएकाले उनीहरूको सुरक्षाका लागि सरकारको विशेष ध्यान आवश्यक रहेको बताए। साथै, स्थानीय स्तरमा मासिक रु. १०,०००, प्रदेशस्तरमा रु. १५,००० र राष्ट्रिय स्तरमा रु. २०,००० आर्थिक सहायता दिनुपर्ने प्रस्ताव गरे।
सरकारले सञ्चारमाध्यमहरू – पत्रपत्रिका, म्यागजिन, टेलिभिजन च्यानल, अनलाइन पोर्टल तथा युट्युब च्यानलहरूलाई सक्रिय रूपमा काम गर्न विज्ञापनको प्रबन्ध गर्नुपर्ने उनको भनाइ थियो। पत्रकार पेन्सन योजना तथा पत्रकार सञ्चय कोष स्थापनाको दिशामा सकारात्मक कदम चाल्न पनि उनले सरकारलाई आग्रह गरे।
नेपाल र भारतका मिडियाबीच आपसी सम्बन्ध तथा सांस्कृतिक आदानप्रदानलाई बलियो बनाउन आवश्यक कदम चाल्नुपर्ने कुरैशीको भनाइ थियो। यसले दुई देशबीचको सम्बन्धलाई अझ समृद्ध बनाउने उनले बताए।
नेपाल र भारतका सञ्चारसंस्थाहरू अब पारदर्शिता र निष्पक्षतालाई जोड दिइरहेका छन्, जसले आपसी समझदारी र सम्मानलाई प्रवद्र्धन गर्ने कुरैशीले बताए।
सेमिनारमा प्रतिक दैनिकका वरिष्ठ पत्रकार शैलेन्द्र झा, मध्यन दैनिकका वरिष्ठ पत्रकार इस्तियाक अहमद, मधेस भूमिका पत्रिकाका कार्यकारी सम्पादक राकेश यादव, मध्यन राष्ट्रिय दैनिकका पत्रकार सत्येन्द्र प्रताप सिंह, आरोही टेलिभिजन सम्पादक मेवालाल यादव, मो. तनवीर आलम, मो. नासिर, आजाद खान लगायत विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति थियो।