नयाँ वर्ष २०८२ को अवसरमा वीरगञ्ज स्थित पुरानो बसपार्क क्षेत्रमा शुक्रवारदेखि तीन दिने ‘रात्रि बजार मेला’ सुरु गरेको छ । चैत ३१ गतेसम्म सञ्चालन हुने रात्रि बजारको उद्देश्य स्थानीय व्यापारलाई प्रवद्र्धन गर्नुका साथै नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउनु रहेको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।
रात्रि बजारका सहआयोजक ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानका अनुसार रात्रि बजारको सम्पूर्ण तयारी पूरा भइसकेको छ र हालसम्म १०० वटा स्टल बुकिङ भइसकेका छन् । मेलामा खाद्य परिकार, लत्ताकपडा, भाँडाकुँडा, कस्मेटिक, हस्तकलाका सामग्री, चस्मा, चप्पल, घरेलु उत्पादन र अन्य विभिन्न स्टलहरू रहने छन् ।
महानगर प्रमुख राजेशमान सिंहले रात्रि बजारले वीरगञ्जको आर्थिक गतिशीलता बढाउने विश्वास व्यक्त गरे । रात्रि बजारमा सांस्कृतिक कार्यक्रम, ट्याटु र मेहन्दी, फुट मसाज, फोटोग्राफी र सेल्फी स्पट जस्ता आकर्षक व्यवस्थाले युवादेखि परिवारसम्म सबै उमेर समूहलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम सफल बनाउन ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ), वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन, फोरजीआर, रुंगटा वेलफेयर, इम्प्रुभिङ वीरगञ्ज, नेपाल इनोभेटिभ सोसाइटी, घरेलु तथा साना उद्योग, र एड्स बी मिडिया प्रालि जस्ता संस्थाहरूले सहकार्य गरेका छन् ।