वीरगंजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उपकार सेवा नेपाल, लायन्स क्लब वीरगञ्ज सेन्ट्रल र मारवाडी महिला मञ्च वीरगञ्जको संयुक्त आयोजना तथा श्री राम अस्पताल वीरगंजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ को सबैठवा धर्मशालामा भएको बृहत् शिविरमा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वय प्रीति यादव र दीप्ति यादवको उपस्थितिमा सञ्चालन भएको उक्त शिविरमा जम्मा १२० जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा आएका आवश्यकता भएका सम्पूर्ण बिरामीहरूलाई निःशुल्क औषधि समेत उपलब्ध गराइएको थियो। डाक्टर प्रीति यादवका अनुसार स्वास्थ्य परीक्षण गराएकामध्ये ३५ प्रतिशत महिलामा पाठेघरको समस्या देखिएको थियो।
यस्तै, ५ प्रतिशत गर्भवती महिला र ५ प्रतिशतमा महिनावारी सम्बन्धी समस्या भएका युवतीहरू थिए। शिविरमा तीन जना महिलामा आङ खसेको समस्या समेत फेला परेको उनले जानकारी दिइन्।
शिविरमा स्थानीय बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न महत्वपूर्ण योगदान पु¥याएको छ। आयोजकहरूले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने बताए ।
उक्त कार्यक्रममा उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्यहरू पद्मा देवी सरावगी र सुमन बगेडिया, लायन्स क्लब वीरगंज सेन्ट्रलकी सेक्रेटरी आशा अग्रवाल, जोन चेयरमेन कविता हलान, मारवाडी महिला मञ्च वीरगंजकी कोषाध्यक्ष चित्र पटवारी, सचिव अर्चना शर्मा, सदस्यहरू लता छपोलिया, पूनम सिंघानिया र निर्मला भाङ्गर लगायत वडा नम्बर २३ का वडाध्यक्ष अवध किशोर कुश्वाहा र स्वास्थ्य चौकी प्रमुख बबन प्रसाद सिंहको उपस्थिति रहेको थियो।
वडाध्यक्ष कुश्वाहाले आयोजक संस्थाको सम्पूर्ण टीम तथा डाक्टरहरूलाई टीका, माला र खादा लगाई स्वागत तथा सम्मान गरेका थिए भने उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले वडाध्यक्षलाई टीका, माला र खादा लगाई सम्मान गरेकी थिइन्।