पर्सा जिल्ला खेलकुद विकास समितिमा कार्यरत कार्यालय प्रमुख तेक्वान्दो प्रशिक्षक नाजिर हुसेन अन्सारीमाथि अनुशासनहीन र विवादास्पद गतिविधिको आरोप लागिरहेका छन्। विशेषतः बिदामा बसेको अवस्थामासमेत पटक–पटक कर्मचारीलाई हाजिरी गराएको तथ्य बाहिरिएसँगै उनीमाथि छानबिनको माग तीव्र रूपमा उठेको छ।
कार्यालय स्रोतअनुसार, अन्सारी तोकिएको समयमा कार्यालयमा उपस्थित नहुनु, सुपरिवेक्षण तथा निर्देशन नमान्ने, र धाद्ली गर्ने प्रवृत्ति देखाउनु जस्ता गम्भीर लापरवाहीमा संलग्न देखिएका छन्। तर सबैभन्दा गम्भीर विषय भनेको, छुट्टीमा रहेका बेलामा समेत आफ्नै मातहतका कर्मचारीलाई उपस्थित भएको झुटो हाजिरी दिनु, जुन सरासर नियमनको उल्लंघन हो।
यसअघि पनि उनीसँग सम्बन्धित अर्को विवादले जिल्ला खेलकुद समितिमा हलचल ल्याएको छ। राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत पर्सा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा सन् १९९३ वि.सं. २०५२ साल देखि स्थापित बिरगंज तेक्वान्दो डोजाङ अहिले गम्भीर विवादमा परेको छ।
अनुभवी प्रशिक्षक महमद सकिल, जसले नेपाल तेक्वान्दो संघ, काठमाडौंमा उक्त डोजाङ दर्ता गराई १२० भन्दा बढी खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन्, उनीमाथि प्रशिक्षणमा अवरोध गरिएको आरोपसमेत नाजिर हुसेनमाथि लागेको छ। सकिलका खेलाडीहरू राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्।
नाजिर हुसेनको कार्यक्षेत्र नारायणी रंगशालाको कभर्ड हल तोकिएको भए पनि, उनले नियम विपरीत पदको पावर देखाई घडीअरवा स्थित खेलकुद विकास समितिको कभर्ड हलमा पुगेर प्रशिक्षण दिन थालेपछि विवाद उत्पन्न भएको हो। यसले प्रशिक्षक सकिलको प्रशिक्षण नियमिततालाई गम्भीर असर पु¥याएको छ।
यही विषयलाई लिएर मङ्गलबार १९ गते जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षबीच छलफल भएको थियो। प्रहरी प्रशासनले राष्ट्रिय खेलकुद परिषद्बाट पत्र ल्याई सोमबार २५ गते समस्याको समाधान गर्न सुझाएको थियो। तर छलफलको केही दिनमै नाजिर हुसेनले नारायणी रंगशालाको डोजो क्लब नै बन्द गरी, घडीअरवामा प्रशिक्षण सुरु गरेपछि स्थिति थप तनावग्रस्त बनेको हो।
आजको घटनाका कारण निर्धारित तालिका अनुसार प्रशिक्षण नहुनुका साथै खेलाडीहरू प्रशिक्षणबाट वञ्चित भए। पछि प्रशिक्षक महमद सकिल र खेलाडीहरू जिल्ला प्रहरी कार्यालय पुगेपछि, सोमबार पुनः छलफल गरिने आश्वासन प्रहरी प्रशासनले दिएको छ।
प्रशिक्षक सकिलले उत्पादन गरेका स्वर्ण पदक विजेता खेलाडीहरूको भविष्य प्रभावित हुने खतरा देखिँदै गएको छ। खेलाडी, अभिभावक तथा खेलप्रेमीहरूले यस्तो गैर जिम्मेवारपूर्ण कार्य,अनुशासनहीनता र संस्थागत हस्तक्षेपको अन्त्य हुनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद्ले शीघ्र हस्तक्षेपको सहितको कारवाही गर्नु पर्दछ।