काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासङ्घले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको महासङ्घको बैठकले माग पूरा नभएसम्म परीक्षा सञ्चालन नगर्न केन्द्राध्यक्ष, निरीक्षकलगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको हो ।
चैत २० गतेबाट शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलन जारी रहेको छ । यसैबीच महासङ्घले विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एनप्याब्सन०लाई पनि आन्दोलनमा बोलाएको छ ।
‘संस्थागत विद्यालयहरूसमेत बन्द गरिदिई आन्दोलनलाई सघाउन प्याब्सन र एनप्याब्सनलाई अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
शीघ्रताका साथ शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न महासङ्घले आग्रह गरेको छ ।
काठमाडौंकेन्द्रित आन्दोलनको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना लगायतका सबै काममा संलग्न नहुन पनि आग्रह गरिएको छ ।
यसैगरी अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने पावन उद्देश्यबाट गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्न संस्थागत विद्यालयहरूलाई समेत आग्रह गरिएको छ।