वीरगञ्ज– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही जिल्लाको बरहथवामा सञ्चालनमा रहेका ११ वटा निजी अस्पतालहरूलाई बन्द गर्न निर्देशन दिएका छन्। सेवा सञ्चालन अनुमति नलिएका, मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति, उपकरण र औषधिको व्यवस्था नभएका अस्पतालहरू अवैध रुपमा सञ्चालनमा रहेको भन्दै मुख्यमन्त्री सिंहले कारबाही प्रक्रिया अघि बढाएका हुन्।
बन्द गर्न निर्देशन दिइएका स्वास्थ्य संस्थाहरूमा सङ्कटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थकेयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थकेयर र बरहथवा पोलिक्लिनिक रहेका छन्।
बुधबार अबेर साँझ भएको अनुगमनमा यस्ता अस्पतालहरू कानुनी प्रावधान विपरीत, बिना अनुमति, नवीकरण नगरी तथा मापदण्डविपरीत सञ्चालन भइरहेको पुष्टि भएपछि मुख्यमन्त्री सिंहले ती अस्पतालहरू तत्काल बन्द गर्न निर्देशन दिएका हुन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार, प्रदेश सरकारले अस्वस्थ र अमानकस्तरीय सेवा दिने स्वास्थ्य संस्थाहरूमाथि अब कडाइका साथ निगरानी र कारबाही अघि बढाउने नीति लिएको छ।
प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बन्द गराइएका संस्थाहरूलाई कानुनी प्रक्रिया पूरा गरी मापदण्ड अनुसारको सेवा सुविधा मिलाएपछि मात्र पुनः सञ्चालन अनुमति दिने जानकारी दिए।
यसअघि पनि मुख्यमन्त्री सिंहले सर्लाहीकै मलङ्गवा, नवलपुर, लालबन्दी, हरिवन लगायत स्थानका स्वास्थ्य संस्थाहरूमा अनुगमन गरी मापदण्ड विपरीत रहेका अस्पतालहरू बन्द गराउने निर्देशन दिइसकेका छन्।