मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको जनकपुर प्रादेशिक अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ । स्टाफ नर्सको अभावका कारण त्यहा सेवा प्रभावित भएको हो । अस्पतालमा दैनिक १२ सय देखि १३ सय सम्म बिरामी आउँछन् तर उनीहरूको हेरचाह गर्ने पर्याप्त स्टाफ नर्स छैनन् ।
अस्पतालका निर्देशक डा. रामनारायण पण्डितका अनुसार बिरामीको उपचारका लागि चिकित्सक पर्याप्त भए पनि नियमित स्याहार र रेखदेखका लागि आवश्यक नर्सहरूको अभाव छ । “बिरामीको प्यासेन्ट केयरमा सबैभन्दा बढी भूमिका नर्सहरूको हुन्छ,” उनले भने, “तर अहिले हाम्रो अस्पतालमा नर्सको संख्या निकै कम भएकाले सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।”
अस्पतालमा हाल १२० जना मात्र स्टाफ नर्स कार्यरत छन् । अस्पताल सञ्चालन मापदण्ड अनुसार ७५० जना कर्मचारी आवश्यक भए पनि हाल जम्मा ५०० जना मात्र कार्यरत छन् । पण्डितका अनुसार तत्काल ५० जना नर्स थप गर्न सके सेवामा सहजता ल्याउन सकिनेछ ।
कहिल्यै नरोकिने बिरामीको चापसँग जुध्न अस्पतालले केही महिनाअघि नर्स पदपूर्तिका लागि आवेदन आह्वान गरेको थियो । तर स्रोतका अनुसार मधेस प्रदेश सरकारबाट भएको राजनीतिक हस्तक्षेपका कारण भर्ना प्रक्रिया रोकिएको छ ।
सरकार, विकास समिति र प्रतिष्ठानको व्यवस्थापनमा हाल तीन सय शय्याको अस्पताल सञ्चालन भइरहेको छ । यसमा १४० सरकारी दरबन्दीमध्ये ९० मा मात्र पदपूर्ति भएको छ भने बाँकी दरबन्दी रिक्त छन् । विकास समितिबाट थप गरिएको १०० शय्यामा २५० कर्मचारी आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको छ । प्रतिष्ठानले पनि थप १०० शय्या विस्तार गरी तीन सय कर्मचारीको दरबन्दी थप गरेको छ, जसको खर्च प्रतिष्ठान आफैंले व्यहोर्दै आएको छ ।
अस्पताल प्रशासनले चाँडोभन्दा चाँडो नर्स भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । जनकपुर प्रादेशिक अस्पताल मधेसको प्रमुख स्वास्थ्य सेवा केन्द्र भएकाले यसमा देखिएको जनशक्ति अभावले सेवा गुणस्तरमा प्रत्यक्ष असर पुर्याइरहेको छ ।