जनमत पार्टी पर्साले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ८ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
कार्यसमितिले जिल्लाको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति, कार्यक्रम र बजेटमा पर्सा जिल्लाको प्राथमिकतालाई समेट्न माग गर्दै पार्टीले औपचारिक रूपमा उक्त ज्ञापन पत्र पेस गरेको हो ।
ज्ञापन पत्रमा समेटिएका मागहरूमा पर्सा जिल्लाको विकासका लागि विभिन्न क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । सर्वप्रथम, अलपत्र अवस्थामा रहेको नारायणी रङ्गशालाको पुनर्संरचना र सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ ।
त्यस्तै, नारायणी अस्पतालको पूर्वाधार विकास र सुविधा विस्तारमा विशेष ध्यान दिनुपर्ने, स्थानीय जनताको सहज आवागमनका लागि “जनता सडक” निर्माणमा बजेट सुनिश्चित गर्नुपर्ने, र कृषिमा आत्मनिर्भरता तथा उत्पादन वृद्धिका लागि सिँचाइ सुविधामा विशेष बजेटको व्यवस्था गर्नुपर्ने मागहरू समावेश छन् ।
यसैगरी, सिरिसिया नदीको संरक्षण र व्यवस्थापन, ठोरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष प्याकेज घोषणा, वीरगञ्जस्थित कृषि औजार उद्योगको सुदृढीकरण र प्रवद्र्धनका लागि बजेट व्यवस्था, साथै किसानहरूलाई समयमै र सहज रूपमा रासायनिक मल उपलब्ध गराउनुपर्ने मागहरू पनि ज्ञापन पत्रमा उल्लेख छन् ।
ज्ञापन पत्र बुझाउन गएको टोलीको नेतृत्व पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए । टोलीमा केन्द्रीय सदस्यहरू विद्यालाल प्रसाद, रम्भा मिश्र, नजमा खातुन, वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा, साथै नेताहरू बृजेश्वर चौधरी, सन्तोष साह, सञ्जय सिंह, अञ्जना गुप्ता, इन्जिनियर सुनिल मुखिया, राजुराज गिरी, लोकेश कर्ण, सञ्जय सर्राफ, कृष्ण कुशवाहा, मनोज साह, अभिषेक झा, आजाद अन्सारी, धीरेन्द्र पञ्जियार, सिकेन्द्र राम, हीरालाल राम र भुवन गिरीको सहभागिता रहेको थियो ।