१५ वैशाख,काठमाडौँ । कृषि, पशुपन्छी विकास मन्त्री ज्वालाकुमार शाहले नेपालमा उत्पादित चिया विश्व बजारमा फैलिँदै गएको बताएकी छिन् ।
शनिबार २८औं चिया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै चिया उत्पादनमा नेपाल पूर्ण आत्मनिर्भर नभई भारतलगायत विश्वका देशहरूमा निर्यात बढाइरहेकोमा खुशी व्यक्त गरिन ।
आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा टेवा पुग्न गएको एवम् चुलिँदो व्यापार घाटालाई न्यूनीकरण गर्न चियाले उल्लेख्य योगदान गरेको पनि मन्त्री शाहले बताइन् ।
त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा.दीपक खनालले कृषि उपजहरू मध्ये आन्तरिक उपभोग र निर्यात व्यापारमा समेत उल्लेखनीय उपस्थिति जनाउने नेपाली चिया गुणस्तरमा अब्बल रहेको कुरा अन्तर्राष्ट्रिय चिया परीक्षण प्रतिस्पर्धामा अब्बल देखिएको प्रमाणित भइसकेको बताए ।
‘रोपण क्षेत्र विस्तार, उत्पादकत्व वृद्धि, नयाँ प्रविधिजन्य प्रशोधन पद्धति एवम् आकर्षक प्याकेजिक र बजारीकरणका माध्यमबाट नेपाली चियालाई अझै बलियो बनाउन सबैले दृढ संकल्प गर्नुपर्छ,’ खनालले भने ।
‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ भन्ने मूल नाराका साथ वैशाख १५ गते २८ औं राष्ट्रिय चिया दिवस मनाइँदैछ ।