भारतीय दूरसञ्चार सेवा प्रदायकको सेवा प्रयोग गर्ने उद्देश्यले वीरगञ्जमा अवैध रूपमा राखिएका चारवटा मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायर प्रहरीले जफत गरेको छ ।
ती उपकरणहरू एयरटेल, जियो, बीएसएनएलजस्ता कम्पनीका सीम स्थानीय रूपमा सहजै चलाउनका लागि सिग्नल स्ट्रेन्थ बढाउन प्रयोग हुँदै आएको जिल्ला प्रहरी कार्यालय पर्सा र साइबर ब्युरोले जनाएका छन्।
पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले वीरगन्जमा अवैध रूपमा प्रयोग भएका मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायर जफत गरिएको पुष्टि गरे । ‘भारतीय दूरसञ्चार सेवा प्रदायकहरूको सेवा प्रयोग गर्न सिग्नल स्ट्रेन्थ बढाउने गरी यस्ता डिभाइस प्रयोग भएको सूचना पाएपछि हामीले अनुसन्धान गरेका थियौँ,’ उनले भने, ‘यस्तो डिभाइस प्रयोग गर्नु गैरकानुनी हो । यसले स्थानीय दूरसञ्चार सेवा प्रदायकको आयमा असर पुर्याउने र अन्ततः नेपाल सरकारको राजस्वमै प्रभाव पार्ने रहेछ ।’
मिश्रका अनुसार साइबर ब्युरोसँगको सहकार्यमा ती बुस्टरसहितको सेटअप जफत गरिएको छ । यस विषयमा एनसेलले वीरगन्ज आसपास क्षेत्रमा ‘नेटवर्क इन्टर्फरेन्स ’ अर्थात एउटा सिग्नलले अर्को सिग्नलको गुणस्तरमा असर पारेको महसुस गरेपछि नियामक नेपाल दूरसञ्चार प्राधिरकणलाई जानकारी गराएको थियो ।
प्राधिकरणले गत चैत १७ मा यस विषयमा सूचना निकालेर सिग्नल बुस्टर तथा एम्प्लिफायर डिभाइसको प्रयोग नगर्न अनुरोध गरेको थियो । ‘मान्छेहरूले आफ्नो घरका छतमै सिग्नल बुस्टर राखेर मज्जाले भारतीय सेवा प्रदायकको सीम चलाएको पायौँ,’ एनसेलले जनाएको छ, ‘यसले देशको शान्ति सुरक्षाको मामिलामा प्रश्व उब्जाउँछ भने आपराधिक कृयाकलाप बढ्न सक्छन् ।’
दूरसञ्चार विज्ञहरूका अनुसार मोबाइल सिग्नल बुस्टरको प्रयोगले सिग्नलको समस्या समाधान गर्ने नभइ दूरसञ्चार सेवा थप गञ्जागोल बनाउँछ । मुख्यतया ‘फ्रिक्वेन्सी इन्टर्फरेन्स’ हुँदा सेवाको गुणस्तरमा गिरावट आउँछ । ‘फोन लागेन भनेर हामीलाई धेरै गुनासो आएपछि, किन यस्तो भएछ भनेर हेर्दा बुस्टर प्रयोग गरिएको भेटियो,’ एनसेलका अधिकारी भन्छन्, ‘त्यसपछि दूरसञ्चार प्राधिकरणलाई जानकारी गराएका थियौँ । उहाँहरूले तुरुन्तै सूचना निकालेर प्रहरीलाई खबर गर्नुभयो ।’ प्रहरीले अनुसन्धानपछि बुस्टर जफत गर्नुका साथै प्रयोगकर्तालाई चेतावनी दिएको छ ।
एनसेलका अधिकारीहरूको बुझाइमा यो एउटा उदाहरण मात्रै हो, वीरगन्ज आसपास क्षेत्रमा चारवटा मात्रै होइन, अझै दर्जनौँ यस्ता बुस्टर लगाएर सीमापारिका सीम निर्बाध रूपमा चलाइएको छ । अन्य सीमावर्ती क्षेत्रमा पनि अवैध सिग्नल बुस्टर प्रयोग भएको हुनसक्ने उनीहरूको आशंका छ । टेलिकम कम्पनीहरू आफैँले भने टावर राख्न नमिल्ने वा प्रयोगकर्ताको चहलपहल धेरै हुने ठाउँमा सिग्नल बुस्टर राख्ने गरेका छन् । कम्पनीहरूले प्राधिकरणबाट पूर्वस्विकृति लिएर बुस्टर उपकरण आयात गर्छन् ।
तर, सीमावर्ती क्षेत्रमा जो कसैले यस्ता उपकरण राखेर भारतका मोबाइल सेवा प्रदायकका सीम प्रयोग गरिरहेको पाइएको हो । दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाका निर्देशक विजय कुमार रायका अनुसार पछिल्लो समय यस्ता बुस्टर प्रयोगसम्बन्धी गुनासो बढ्दै गएका छन् ।
‘बुस्टर प्रयोग भइरहेको छ भन्ने गुनासो आएपछि यसबारे जनचेतनाको कमी भयो कि भनेर हामीले गत चैत १७ मा सूचना पनि निकालेका थियौँ,’ उनले भने, ‘यी बुस्टर रेडियो उपकरण भएकाले यत्तिकै ल्याएर चलाउन पाइँदैन ।’
बुस्टर प्रयोग गर्दा नेटवर्कमा पर्ने असरबारे पनि पनि निर्देशक रायले बताए । ‘बुस्टरले हाइ पावर फाल्ने भएकाले आसपासका बीटीएस र फ्रिक्वेन्सीमा असर गर्छ र त्यसले सेवामा असर पुर्याउँछ,’ उनले भने, ‘पसलहरूमै बुस्टर ल्याएर बेच्छन् भन्ने सुनेका छौँ । यसमा वाइड रेन्ज हुन्छ, पावर पनि बढी फाल्ने भएकाले सेवा प्रदायकको बीटीएसमा असर गर्छ । यसले गर्दा फोन नलाग्ने समस्या हुन्छ ।’
उनका अनुसार यसअघि फ्रिक्वेन्सी ओभरल्याप भए पनि बुस्टर प्रयोगका गुनासो आएका थिएनन् । ‘ओभरल्याप भएका बेला हामी भारतका सेवा प्रदायकसँग द्विपक्षीय कुरा गरेर उनीहरूको टावरको पावर घटाउन र एन्टिनाको एंगल समायोज गर्न लगाउँथ्यौँ,’ उनले भने, ‘भारतको जोगबनीमा रहेको बीटीएस टावर भेडेटारसम्म टिप्ने घटना भएका छन् । त्यस्तो बेला भारतीय सेवा प्रदायकसँग समन्वयन गरेर फ्रिक्वेन्सी खप्टिने समस्या समाधान गर्ने गरेका छौँ ।’
निर्देशक रायका अनुसार नेपालका सेवा प्रदायकको कभरेज कमजोर भएको वा सेवाको गुणस्तर राम्रो नभएको कारणले पनि सीमावर्ती क्षेत्रमा यस्ता बुस्टर प्रयोग भएको हुनसक्छन् । ‘लो पावर डिभाइसले टावरलाई डिस्टर्ब गर्दैन तर छानामै राख्दा बीटीएसमा असर हुन्छ,’ उनले भने, ‘त्यस कारण जीएसएमएम सेवाका लागि जो कसैले यस्ता डिभाइस राख्न पाइँदैन ।’
प्राधिकरणका अनुसार बुस्टर, एम्लिफायर वा यस प्रकारका उपकरण प्रयोग गर्न दूरसञ्चार ऐन, २०५३ तथा रेडियो ऐन, २०१४ अनुसार अनुमति आवश्यक पर्छ । दूरसञ्चार ऐनको दफा २१ मा अनुमतीपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न पाइदैन । रेडियो ऐनको दफा ३ ले पनि यस्ता उपकरणहरू अनुमती पत्र बेगर बनाउन, राख्न र प्रयोग गर्न निशेष गरेको छ ।