काठमाडौँ । शनिबार उपनिर्वाचन सम्पन्न भएर मंगलबार अन्तिम नतिजा आएको इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर, रास्वपाका उम्मेदवार मिलन लिम्बुसहित अन्य १६ उम्मेदवार सो बराबर मत ल्याउन असफल भए ।
इलाम २ मा सदर मत ६८ हजार ४७२ हो भने जमानत जोगाउन कम्तीमा ६ हजार ४ मत ल्याउनुपर्ने हुन्छ । लिम्बुले ५ हजार ५० मतमात्रै पाए । यस्तै एकीकृत समाजवादी, राप्रपा, जनमत पार्टी, नेमकिपा, राप्रपा नेपालका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भयो ।
इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । जसअनुसार कांग्रेस उम्मेदवार डम्बर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुको मात्रै जमानत जोगियो ।
बझाङमा ८ दलको जमानत जफत
बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन्। यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भएका छन्। त्यस्तै उनका निकटम प्रतिद्वन्दी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे।
यस निर्वाचनमा माओवादी केन्द्रका जनक बहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गर्दै आफ्नो जमानत जोगाएका छन्। कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ। यस क्षेत्रमा उपनिर्वाचनमा ११ उम्मेदवार रेहकोमा शिर्ष तीन उम्मेदवार बाहेक अन्य सबैको जमानत जफत भएको छ।
एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत प्राप्त गरेपनि जमानत जोगाउन भने सकेनन। त्यस्तै यस क्षेत्रमा राप्रपाका किशोर कुमार खड्काले २४२ मत प्राप्त गरेका छन् भने जसपाका राम बहादुर जाग्रीले ४४ मत मात्र पाएका छन्। त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापाले ३५ मत प्राप्त गरेका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका दिपक बहादुर खड्काले २८ मत प्राप्त गरेका छन्। त्यस्तै जनमत पार्टीकी शुशिला देवी विष्टले २६, नेमकिपाका खगेन्द्र बहादुर शाहीले २४ र नेशनल रिपब्लिक नेपालका कमल घर्तिमगरले २ मत पाएका छन्।
६१ हजार ७४८ मतदाता रहेको बझाङको यस उपनिर्वाचनमा शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको थियो, जसमा २९ हजार ७०५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ।